ओली – प्रचण्डबीच बालुवाटारमा गोप्य वार्ता, के–के भयो कुराकानी ?
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविच भेटबार्ता भएको छ । प्रधानमन्त्री ओली सिंगापुरबाट फर्कने वित्तिकै अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो भेटवार्ता भएको हो ।
प्रधानमन्त्री सिंगापुरबाट फर्किएलगत्तै उनलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । भेटघाटमा ओली र प्रचण्डबीच भएको गोप्य कुराकानी बाहिर नल्याइए पनि प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि, पार्टी एकता सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए । आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए । प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरेका थिए। यही बीचमा प्रचण्डले अन्तरपार्टी निर्देशन–२ पनि जारी गरेका थिए ।
उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओली थाइर एयरवेजको विमानमार्फत शुक्रबार मध्याह्न सिंगापुरबाट थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेका हुन् । ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीको बिहीबार मात्रै सातौं प्लाज्मा फेरिसिर गरिएको थियो । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका प्रधानमन्त्री ओलीलाई अस्पतालले बिहीबार नै डिस्चार्ज गरेको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपा सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णु पौडेलपनि प्रधानमन्त्रीसँगै स्वदेश फर्किएका छन् ।