सिन्धुपाल्चोकमा कर्फ्यू लाग्यो, यस्तो छ कारण
काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा कर्फ्यू लागेको छ । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा मेलम्ची खानेपानी आयोजनामा स्थानीय कार्यालय वरपर कर्फ्यू लागेको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३९क० बमोजिम आजदेखि अर्को आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।
त्यस्तै अम्बाथानमा पूर्वतर्फ सामुदायिक वन, पश्चिमतर्फ मेलम्ची खोलाको पहरो, उत्तरमा पार गाउँ जाने बाटो र दक्षिणमा तीम्ब खोला वरपर २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ । मेलम्ची खानेपानी कार्यालयमा पूर्वमा इन्द्रवती खोलाको बगर पश्चिमतर्फ श्री नं २ जगदल गण, ब्यारेक कार्यलय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालबेँसी चोक २०० देखि ५०० मिटरसम्म पनि आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।
ग्याल्थुम सुरुङ पूर्वमा भुसुने पाखो, पश्चिमतर्फ ग्याल्थुम खोला, उत्तरतर्फ लाभ गाउँ र दक्षिण खरभूजे चोक २०० देखि ५०० मिटर क्षेत्रमा पनि भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ । यसैगरी ग्यालथुम सुरुङ जाने बाटोमा पूर्वमा थापाटोल लाभ गाउँ, पश्चिममा साल्मेचोक, उत्तरमा चिलौने बस्ती र दक्षिणमा सिन्धुखोलाको २०० देखि ५०० मिटर क्षेत्रलाई पनि भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
मगरको निर्देशनमा इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको सम्झौता रद्द भएको थियो । त्यसपछि काम सम्पन्न गर्न तयार भएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सम्झौता अघि नै सुरक्षा माग गरेको छ । सीएमसीसँगको सम्झौता रद्द गर्दा र नयाँ ठेक्का लगाउँदा मन्त्री र उनका आसेपासेलाई केही कमिशन आउन सक्ने भए पनि त्यसमा अबरोध बनिदिएका छन्, पेटी ठेकेदारहरू जसलाई सीएमसीले करोडौं भुक्तानी गर्न बाँकी छ । त्यस्ता पेटी ठेकेदारको रकम भुक्तानीमा मन्त्री मगरले कुनै चासो नदेखाई मनोपोली गरेपछि सिनो हाइड्रोलाई काम गर्न नदिने मुडमा तत्कालिन पेटी ठेकेदार पुगेका छन् ।
त्यति मात्रै हैन बुधबारदेखि मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले त्यहाँ भइरहेको काम नै ठप्प पारेका छन् । आयोजनाको काम छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म चिनियाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणासहित आजदेखि संघर्ष समितिका सदस्य धर्नामा बस्ने भएका हुन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना बस्ने जनाएका थिए ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई एक साताको समय दिएको थियो । बुधबार उक्त समयसीमा सकिएको छ । समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा धर्ना बस्न लागेको संघर्ष समितिका पदाधिकारीले बताएका छन् ।