पंखामा झुण्डिएको अवस्थामा भेटिए वडाध्यक्ष नेपाल
काठमाडौं – बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपाल सिलिङ पंखामा झुण्डिएको अबस्थामा भेटिएका छन् । नेपालले वडा नं. २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएको अबस्थामा भेटिएका हुन् ।
कोठाको ढोका बन्द गरी सिलिङ पंखामा झुण्डिएको अवस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गरी घाँटीको डोरी काटेर अस्पताल पुर्याएका थिए। उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
घटनापछि भैरहवा मेडिकल कलेजमै रहेका बुटवल वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन्। चिकित्सकलाई उद्धृत गर्दै क्षेत्रीले लामो समय श्वासप्रश्वास बन्द भएको कारण मष्तिष्कमा अक्सिजन बन्द भए पनि घाँटीको हड्डी भने नभाँचिएको बताए ।
क्षेत्रीले उनको आत्महत्या प्रयासको कारणबारे केही थाहा नभएको बताए। क्षेत्रीले घरायसी कारण वा मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको विषयमा परेको मुद्दाको विषयले पनि उनी तनावमा रहेको हुन सक्ने सेतोपाटीलाई बताए ।
नेपाल मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको महासचिव हुन्। केही समय अगाडि फुलबारीस्थित चिडियाखानामा रहेको चितुवाको खोरमा काठ भेटिएको विषयलाई लिएर उद्यानका पदाधिकारीहरूविरूद्ध मुद्दा परेको थियो ।