प्रधानमन्त्री ओली कहिलेदेखि जान्छन् सिंहदरबार ?
काठमाडौं – दुई साता लामो उपचार सकाएर शुक्रबार नेपाल फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबारदेखि सिंहदरवार जाने भएका छन् । उपचार सकेर फर्किएपनि पनि प्रधानमन्त्री काममा भने फर्किएका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मंगलबारबाट प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने बताए ।
“आजसम्म बालुवाटारबाटै कार्य सम्पादन गरिराख्नुभएको छ । भोलि (मंगलबार)बाट प्रधानमन्त्री सिंहदरबार आउनुहुन्छ,” उनले भने । प्लाज्माफेरिसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टीबडी नष्ट गरिएकाले चिकित्सकले बाह्य संक्रमणबाट जोगिनु भनेकाले बाहिर ननिस्कएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
डेँगुलगायत कतिपय संक्रमण फैलँदो क्रममा रहेकाले प्रधानमन्त्रीले पार्टीका नेता तथा क्याबिनेट मन्त्रीलाई निवासमै बोलाएर पार्टी र सरकारको कामको ब्रिफिङ लिएका थिए । आइतबारमात्रै पनि बालुवाटारमै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।