प्रधानमन्त्री ओली फेरी सिंगापुर जाँदै

शुक्रबार, २७ भाद्र २०७६

काठमाडौंं – सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरीपनि स्वास्थ्यमा समस्या देखिन थालेको छ । सिंगापुरबाट दोश्रो चरणको उपचार सकाएर नेपाल फकिएका ओलीलाई फेरी पनि रोगले च्याप्न थालेको छ । विहिबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण आधा घण्टा छलफल गरेर बैठक स्थगित भएको थियो ।

बैठकमा सहभागी नेकपाका सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीको स्वास्थ स्थिति कमजोर भएकाले बैठकमा उपनिर्वाचनका सन्दर्भबाहेक अन्य एजेण्डामा छलफल नभएको बताए । तर बैठकमै सहभागी अर्का सचिवालय सदस्य नारायण काजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली स्वयंले आफू ठीक रहेको र नियमित काममा फर्किन तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्रीको मनोवल उच्च छ तर स्वास्थ्यले साथ दिएको छैन् । मोटिभेट न्युजसँग कुरा गर्दै श्रोतले भन्यो, ‘स्वास्थ्यस्थिति अहिले सामान्य भनिएको हो, त्यति लामो समय उपचार गरेर फर्किनुभएको छ उहाँ । मृगौलासम्बन्धी रोग क्रिटिकल हो भनेर तपाईं आफैं लेख्नु हुन्छ । बुझ्नुपर्यो नि !’

प्रधानमन्त्री उपचारका लागि पुनः छिट्टै सिंगापुर जान सक्ने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ । यद्यपि कहिले र कुन चरणको उपचारका लागि सिंगापुर जाने भनेर समय तोकिएको छैन् ।