काठमाडौँको स्वयम्भूमा ठुलो दुर्घटना
काठमाडौं – काठमाडौँको स्वयम्भूमा ठुलो दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । स्वयम्भूको अन्नपूर्ण चोकमा बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा बा ९८ प २७१५ नम्बरका चालक सानोभर्याङ निवासी २० वर्षीय सम्मान भट्टको राति मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले दुर्घटनामा गम्भीर घाइते भट्टको वनस्थली ढुङ्गेधारामा रहेको साइबाबा अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए । दुर्घटनामा संलग्न बसका चालक नुवाकोट तारकेश्वरका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको सुवेदीले बताए । मृतकको शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।