तरुण दलमाथि आक्रमण गर्नेलाई जवाफ फर्काइन्छ : विद्यार्थी नेता शाह
काठमाडौं – नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले तरुण दलका नेतामाथि भएको आक्रमणको जवाफ फर्काउने बताएका छन् । सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले नेपाल तरुण दल नेपालगञ्ज नगर अध्यक्ष सन्दीप जंग शाह, तरुण नेताहरु घमण्ड खडका र अमर रोकायलाई नेकपाका कार्यकर्ताले खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको घटना प्रति घोरभ्रत्सना गर्दै शाहले आक्रमणको जवाफ फर्काउने बताएका हुन् ।
शाहल नेपालगञ्ज घटनामा संलग्न नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गरी कानुनी कारबाही गर्न माग गरेका छन। बाँकेमा तरुण नेताहरू माथिको आक्रमण राज्य आतंक भएको शाहले जिकिर गरे। उनले बाँकेमा भएका घटनाहरु कुनै निश्चित व्यक्ति वा जिल्ला लक्षित नभएर यो प्रतिपक्षी र विरोधीहरूलाई दमन गरी समग्र राज्य सत्ता कब्जा गर्ने उद्देश्यले सरकारद्वारा निर्देशित एउटा संरक्षित घटना भएको पनि बताए ।
सरकारद्वारा निर्देशित यी योजनाबद्ध घटनाको प्रतिकार गर्न सर्बप्रथम आपसी मेलमिलाप र सहकार्यको आवश्यकता हुनु पर्ने भन्दै शाहले त्यसका लागि गुटगत जन्जिरबाट मुक्त भएर संगठनलाई शसक्त र गतिशील तरीक़ाले निर्माण र परिचालनमा केन्द्रित हुन पार्टीका नेताहरू सुझावसमेत दिएका छन । उनले यो जटिल अवस्थामा आपसी मतभेदको अन्त्य गर्दै पार्टीमा हार्दिकताका साथ सहमतिमा पार्टीको सम्पूर्ण अङ्गलाई सशक्त तरिकाले संगठन निर्माण र परिचालन गर्ने दिशामा कांग्रेस लाग्नुपर्नेमा जोड दिए ।
नेता शाहले खाली रहेको नेपाल विद्यार्थी संघको केन्द्रीय समिति तत्काल गठन गर्न, विस्तार हुन बाँकी रहेका नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघको केन्द्रीय समिति तत्काल विस्तार गर्न पनि अनुरोध गरेका छन । शाहले नेपाली कांग्रेसका दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूलाई पनि विशेष निबेदन गर्दै आफ्नो गुटगत र व्यक्तिगत स्वार्थका लागी संगठनलाई बन्धक बनाऊने कुराको कारक र सहयोगी नबन्न पनि आव्हान गरेका छन। उनले आफनै कारणले आफनै आँखा अगाडि पार्टी र लोकतान्त्रिक प्रणाली समाप्त भएर असहाय हुने अवस्था सृजना नहोस भन्दै पार्टीका सम्मानित नेताहरूलाई त्यतातिर ध्यान दिन पनि विनम्र अनुरोध गरेका छन।