के प्रचण्ड भारतका गोटी हुन् ? नारायणमान बिजुक्छेले खोले पोल
भक्तपुर – नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको गोटी भएको बताएका छन् । उनले प्रचण्ड भारतको गोटी भएकाले दिल्लीका दूत जसरी नेपालको राजनीतिलाई पर्दुषण गरेको बताए ।
भक्तपुरको सल्लाघारीमा शुक्रबार पार्टीको सातौँ महाविधेशनको उद्घाटन समारोहमा बोल्दै बिजुक्छेले सो कुरा बताएका हुन् । अध्यक्ष बिजुक्छेले प्रचण्ड र उनले नेतृत्व गरेको तत्कालीन दल माओवादी केन्द्रप्रति कटाक्ष गर्दै भने, ‘एमाओवादी अराजकवादी दल एमालेजस्तै पुँजीवादी भासमा गएर कहिल्यै नउम्कने गरि पतन भएको छ ।’
अहिलेको नेकपाले निर्वाचनमा बहुमत ल्याएर नेपाली काँग्रेसलाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन सिद्धान्तहिन राजनीति गरिरहेको बिजुक्छेको आरोप छ । ‘सैद्धान्तिक रुपले आफूहरुसँग पटक्कै नमिल्ले क्षेत्रीयतावादी र अवसरवादीसँग मिलेर निर्वाचनलाई प्रयोग गरि सरकारमा जाने उद्देश्य राख्नु माक्र्सवाद नभएर संशोधनवाद र अवसरवाद हो,’ अध्यक्ष बिजुक्छेले भने ।
बन्दुक बोक्नेनै कम्युनिष्टको कसी हुने भए पृथ्वीनारायण शाह, राणा शासक, काँग्रेस सबै कम्युनिष्ट हुने थिए भन्दै बिजुक्छेले प्रश्न गरे, के उनीहरु पनि अब कम्युनिष्ट हुने भए त ? अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको संसदमा विरोध गर्नु क्रान्तिकारी संसदवाद भएको बिजुक्छेको भनाई छ ।

नेमकिपाका सचिव प्रेम सुवालले भारतले खुल्ला सीमाकै दशगजामा पाँच दर्जन भन्दा धेरै बाँध बनाउने कार्यको पार्टीले निरन्तर विरोध गर्दै आएको बताए । ‘सडकमा हुँदा सीमा विवादको विषयमा कराउने वर्तमान नेकपाका नेताहरु सरकारमा गएपछि चुइँक्क बोल्दैनन्,’ सुवालले भने ।
उद्घाटन समारोहमा केन्द्रीय सदस्य सुनिल प्रजापति, डिल्ली काफ्ले, अनुराधा थापा मगरलगायतले देशमा संघीयता लागू भएपनि वर्तमान सरकारले स्थानीय तहलाई अधिकार दिन नचाहेको बताए । भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ ¥याली शुरु गरी भक्तपुर सल्लाघारी चौरमा उद्घाटनस्थलमा पुगेको थियो ।
२०३१ साल माघमा पार्टी स्थापनाकालदेखि हालसम्म पटक–पटक नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुदैं आएका छन् । नेमकिपामा सातौं महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्तावेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।
यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौँको खुल्ला मञ्चमा छैठौं महाधिवेशन गरिएको थियो ।