प्रधानमन्त्री ओलीलाई बेरोजगार युवाको चिन्ता, पठाए यस्तो सन्देश
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा समय व्यतित गर्ने फुर्सदिलो युवाहरुको आफूलाई चिन्ता लागेको बताएका छन्। संविधान दिवसको अवसरमा टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही फुर्सदिलो युवा पंक्तिले रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा समय व्यतीत गरेकोमा चिन्ता लागेको बताएका छन् ।
उनले मुलुकमा अहिले ३४ वर्ष मुनिको जनसंख्या ६५.५ प्रतिशत रहेको उल्लेख गर्दै जनसांख्यिक लाभको अवस्थामा मुलुक रहेको उल्लेख गरे। ‘युवा पंक्ति छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘मलाई गर्व ती युवा पंक्तिप्रति छ, जसले विभिन्न इनोभेटिभ प्रयासहरु थालेका छन्। कतिले वस्तु उत्पादनबाट, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका छन्।’
उनले केही युवाको विषयमा भने आफूलाई चिन्ता रहेको बताएका छन्। ‘मलाई थोरै चिन्ता केही फुर्सदिलो युवा पंक्तिको पनि छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ’, ओलीले सम्बोधनमा भनेका छन्, ‘मलाई चिन्ता एउटा हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ । क्रिटिकल अप्रोच को नाममा सार्वजनिक प्लेटफर्मबाटै प्रवाहित उनीहरुका अभिव्यक्ति घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको होकी जस्तो भान हुन्छ।’