सरकारले गर्यो ९ जना सहसचिवहरुको सरुवा, को कहाँ सूचीसहित ?

सोमबार, १३ असोज २०७६

काठमाडौं – सरकारले विभिन्न सेवा समूहकम ९ जना सहसचिवहरुको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाअन्तर्गत विभिन्न समूहका ९ जना सहसचिवको काज सरुवा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव ज्ञानेन्द्र पौडेलको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक ध्रुव घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत किशोरजंग कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ल्याइएको छ।

राष्ट्रिय दलित आयोगमा कार्यरत सहसचिव प्रल्हादप्रसाद सापकोटालाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ। यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव राजकुमार श्रेष्ठको सरुवा निर्वाचन आयोगमा भएको छ।

प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नवराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ। यही प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत पुष्करनाथ घिमिरेलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ल्याइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव पद्मकुमार मैनालीको सरुवा सहरी विकास मन्त्रालयमा भएको छ।