सभामुख कृष्णबहादुर महराले जोसमा होस गुमाउँदा लफडा, एक महिलाले लगाइन गम्भिर आरोप
काठमाडौं – प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि दुरव्यवहारको आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् ।
सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाएकी हुन् । उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन् ।
दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको बताइन् । प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । बानेश्वर प्रहरीले भने यसबारे कुनै जाहेरी नआएको भन्दै प्रतिक्रिया दिन अश्वीकार गरेको छ ।
सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको बताएका छन् । कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको सभामुख महराले स्पष्ट पारे । ‘तपाईमाथि त गम्भीर आरोप लागेको सुनियो, यो लफडा के हो ?’ भन्ने प्रश्नमा सभामुख महराले भने, ‘यो केही होइन, समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइदिनुपर्यो भन्ने वहाँको कुरा थियो, तर अब समायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै दरबन्दी छैन स्वास्थ्यको । यसैमा उहाँले हाम्रोचाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।’