सभामुख महराको शर्तसहितको राजीनामाको अर्थ के हो ?
काठमाडौं – संघिय संसदको प्रतिनिधि सभाका सभामुख कृष्णबहादु महराले सर्तसहितको राजीनामा दिएका छन् । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुखले पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिने क्रममा महराले महराले भनेका छन्, ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज जोस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’
महराले उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरिएको छ । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ले महराको राजीनामा शर्तसहितको भएको जिकिर गरेका छन् । राजीनामा पत्रको व्यहोराबारे प्रश्न उठेपछि मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन । सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ।’
सभामुखले आफूमाथि लागेको गम्भीर आरोपबारे अनुसन्धानमा सघाउन छानविन अवधिसम्म सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिएको मल्लले बताए । ‘यसले छानविन प्रक्रियालाई सहयोग पुर्याउँछ’ उनले भनेका छन् । महराले आफ्नो रानीनामामा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ शर्त राखे पनि राजीनामा शर्त राखेर नहुने संविधानविदहरु बताउँछन् । संविधानविद विपीन अधिकारी भन्छन्, ‘राजीनामा शर्तसहित हुँदैन ।’
पूर्वसभामुख तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सभामुखको राजीनामा सशर्त नहुने बताए । नेम्वाङले सँग भने, ‘सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनासाथ त्यो पद रिक्त हुन्छ । के भनेर, कस्तो भाषा प्रयोग गरेर राजीनामा दिइयो भन्ने कुरा गौण हुन्छ ।’
नेकपा सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिसभा सदस्य दुवै पदबाट राजीनामा गर्न भनेको थियो । महराले सभामुखको राजीनामा शर्त राखेका छन् भने सांसद पदबाट राजीनामा दिएका छन् । तर, संसदीय दलका उपनेता नेम्वाङले भने पार्टीको आँखामा महरा अब सांसद पनि नरहेको बताए ।
