विप्लव नेकपाका मध्यकमाण्ड इन्चार्ज वीरजंग पक्राउ, विप्लव पनि घेराबन्दीमा !

बिहिबार, ३० असोज २०७६

काठमाडौं – दाङबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपश्चिम कमाण्ड इञ्चार्ज बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलाबाट पक्राउ गरिएको बताईएको छ । त्यहाँ नेकपाको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले बैठक भइरहेको स्थानबाटै विप्लव नेता कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए । मध्य कमाण्ड इन्चार्ज वीरजंग विप्लवका आफ्नै सहोदर दाइ हुन् । उनी पक्राउ परेपछि विप्लवलाई पनि घेराबन्दीमा पारेको र माथिको आदेश आउने वित्तिकै पक्राउ गर्ने श्रोतले जनाएको छ । वीरजंगबाट बरामद भएको मोबाइलबाट विप्लव बस्ने ठाउँको लोकेशन ट्रयाप गरेको प्रहरी श्रोतको दावि छ ।