के साँच्चै ट्रम्प र पुटिन नेपाल आउँदैछन् ? यस्तो छ सरकारको धारणा
काठमाडौं– चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने चर्चा चलिरहेका बेला सरकारले स्वागत गर्न नेपाल तयार रहेको बताएको छ । विश्वभरका नेतृत्वलाई नेपाल भ्रमण गराउने नीति अनुसार सगरमाथा संवादमा निमन्त्रणा गरिने भएको छ । सोहि अनुसार पुटिन र ट्रम्प नेपाल आउने छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले उच्चस्तरीय भ्रमणको प्रयास गरिरहेको बताएका हुन् ।
‘अमेरिकी र रुसी राष्ट्रपति आउनुहुन्छ भन्ने प्रश्न छ, आएमा हामी खुसी हुन्छौं, सगरमाथा संवादमा विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई निमन्त्रणा दिन्छौं, आएमा खुसीको कुरा हुनसक्छ,’ पत्रकारले सोधेको एक प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले भने, ‘सरकारले पहिले नै आफ्नो नीति कार्यक्रममै घोषणा गरेको छ, उच्चस्तरीय राजनीतिक भ्रमण गराउने र नेपाल पखेटा फिँजाएर संसारभर जानसक्छ भन्ने नीति नै छ ।’ मन्त्री बाँस्कोटाले अमेरिकी या रुसी राष्ट्रपतिको नेपाल भ्रमणबारे औपचारिक निर्णय नभएको पनि स्पष्ट पारे ।
‘उच्चस्तरीय भ्रमणको प्रयास गरेका छौं, अहिले शीको भ्रमणले हामी सुरक्षा प्रदान गर्न सक्षम छौं, स्वागत गर्न पनि सक्छौं भन्ने प्रमाणित भएको छ । हामीले दिने भनेको सम्मान हो, सद्भाव र माया दिन तयार छौं,’ मन्त्री बाँस्कोटाले अगाडि थपे, ‘यो–यो देशका आउनुहुन्छ भनेर भन्न सक्दिनँ, संसारभरका नेतृत्वलाई सगरमाथा र बुद्धको देशमा आमन्त्रण गर्ने हो । यसले हाम्रो आर्थिक रूपान्तरणका लागि आधार तयार गर्दै जान्छ ।’