महाभारतको कथा : जानाजान बखेडा झिक्दा आफैलाई घाटा
काठमाडौं – महाभारतको युद्ध सकियो । त्यही रात अश्वत्थामाले द्रौपदीका पाँच नाबालक पुत्र मारे । यो घटना हुनुमा मार्कण्डेय पुराणले यसरी कारण प्रष्ट गरेको छ, ‘द्रौपदीका ती पाँच पुत्रहरु पूर्वजन्ममा उपदेवता श्रेणीका पाँच विश्वेदेवा थिए ।
तिनीहरुको मिश्वामित्रले हरिश्चन्द्र राजाको परीक्षा गर्न लाग्दा त्यस्तो कठोर परीक्षा नगर्न भने । विश्वामित्रले रिसाउँदै भने–‘हे विश्वेदेवा हो ख्याति खोलाको बगरमा खोजेर पाइदैन । यसका लागि ठुलै काम गर्नुपर्छ । मैले राजा हरिश्चन्द्रकै यश बढाउन यो काम गरेको हुँ भन्ने कुरा तिमीहरुलाई पनि थाहा छ । तर पनि तिमीहरुले मेरो निन्दा ग¥यौं त्यसैले तिमीहरुले मान्छे भएर जन्म लिनुपरोस् ।’
यसरी ऋषिले मनुष्य बन्ने श्राप दिएपछि विश्वेदेवाले अति सीघ्र श्रापमुक्तिका लागि ऋषिसँग अनुरोध गरे । उनीहरुको अनुनय विनय सुनेर ऋषिले भने–‘हे विश्वेदेवा हो । चिन्ता नगर, तिमीहरु मेरो श्रापले मनुष्य भएर पृथ्वीमा गएपनि बाल्यकालमै कुनै वीरद्वारा मारिएर मेरो श्रापबाट मुक्ति हुनेछौ ।’
विश्वामित्रको श्राप लागेका तिनै पाँच विश्वेदेवाहरु नै द्रौपदीका पाँच पुत्र बनेर आएका थिए । ऋषिले दिएको वरदान अनुसार नै अश्वत्थामाद्वारा मारिएर श्रापमुक्त हुँदै पुनः आफ्नै लोकमा आए । यसर्थ, किन त्यस्तो गरिएको हो भन्ने जान्दाजान्दै पनि बखेडा गर्न खोज्नेले कहिलेकाँही यस्तै आपत भोग्नुपर्छ ।