भारतमा विधानसभाको चुनाव, सात मन्त्री पराजित

शुक्रबार, ८ कार्तिक २०७६

एजेन्सी– भारतको महाराष्ट्र र हरियाणा विधानसभाको चुनाव भएको छ । यस चुनावमा बीजेपीले सबैभन्दा बढी सीट जितेको छ। तर यी राज्यमा सत्तारुढ रहेको बीजेपी सरकारका धेरै मन्त्रीले हारको सामना गर्नु परेको छ ।

महाराष्ट्रको देवेन्द्र फडवीस सरकारमा मन्त्री रहेका आठ जनाले विधानसभाको चुनावमा हार्दा हरियाणाका मनोहर लाल खट्टर सरकारका सात मन्त्री पराजित भएका छन् ।

महाराष्ट्रका कृषी मन्त्री अलि बोडेले चुनाव हारेका छन् र यसका साथै महाराष्ट्रमा पार्टी फेरेर बीजेपीमा आएका १९ मध्ये ११ उम्मेदवारले पनि चुनाव हारेका छन् । त्यस्तै हरियाणामा मन्त्रीले मात्र चुनाव हारेका छैनन् । त्यहाँका बीजेपीका प्रदेश अध्यक्ष सुभाष बरालाले पनि चुनाव हारेका छन् ।

हरियाणा र महाराष्ट्र विधानसभा चुनावको परिणाममा बीजेपी सबैभन्दा ठूलो दल बन्ने देखिएको छ तर उसले हरियाणामा बहुमत नपाउने देखिएको छ । तर बीजेपी महाराष्ट्रमा आफ्नो सहयोगी दल शिवसेनाका साथ मिलेर सरकार बनाउन सक्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार हरियाणामा बीजेपीले ४० सीट जितेको छ, कांग्रेसले ३१ जननायक र जनता पार्टीले १० सीट जितेको छ ।
हरियाणामा ९० विधानसभा सीट छ र बहुमतका लागि ४६ सीट आवश्यक पर्छ । महाराष्ट्रमा भने बीजेपीले १ सय ५, शिवसेनाले ५६, एनसीपीले ५४ र कांग्रेसले ४४ सीटम जीत हात पारेका छन् ।

महाराष्ट्रमा २ सय २८ सीट छ र बहुमतका लागि १ सय ४५ सीटको आवश्यकता पर्छ । यस हिसावमा बीजेपी र शिवसेनाले सहजिलै महाराष्ट्रमा सरकार बनाउन सक्नेछन् ।