मतदातालाई प्रभावमा पार्न खोज्ने मन्त्रीको जागीर चट

शनिबार, ९ कार्तिक २०७६

एजेन्सी– मतदातालाई प्रभावमा पार्न खोज्ने जापानका एक जना मन्त्रीको पद खोसिएको छ । जापानका नवनियुक्त ब्यापर मन्त्रीले मतदातालाई महंगो फूल उपहार दिएपछि उनको मन्त्री पद जोसिएको हो ।

ती मन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका छन् । इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको समाचारहरु प्रकाशन भएका थिए । उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको समाचारहरुमा जनाइएको छ । जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ।

साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए । जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो ।

सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो । सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएका छन्। “म मेरो समस्याको कारणले संसद्‍मा हुने छलफल ढिला होस् भन्ने चाहन्न,” सुगावाराले बताए ।