प्रेरक प्रसंग : यसकारण हाँस्छन् यमराजका दूत

आइतबार, १० कार्तिक २०७६

काठमाडौं – एउटा चील र परेवाको घनिष्ट मित्रता थियो । परेवा ज्यादै बुढो थियो भने चील जवान थियो । बुढो मित्र परेवालाई चीलले नै चारो खोजेर ल्याइदिन्थ्यो । दुबै कुनै रुखको डालीमा बस्थे । एक दिन चील चारो खोज्न गएको बेला यमराजका दूतहरु त्यही रुखको फेदको बाटो हुँदै कतै जान त्यहाँ आइपुगे । उनीहरु बुढो परेवातिर हेर्दै हाँसेर बाटो लागे । परेवा डरायो ।

एकछिनपछि चारो बोकेर आएको चीलले आफ्ना परममित्र परेवालाई झोक्राएर बसेको देखेर कारण सोधे । परेवाले भन्यो ‘मित्र अब मेरो मर्ने दिन आएजस्तो छ म बुढो पनि भइसकँे । आज मलाई हेरेर यमदूतहरु हाँस्तै हिँडेका छन् र सायद अब तिनीहरु मलाई लिन आउँछन् होला ।’ चीलले भन्यो –‘नडराउनुहोस् मित्र यहाँदेखि एक हजार योजन पर एउटा पहाड छ, त्यो पहाडमा एउटा ठुलो गुफा छ । म तपाइँलाई आफ्नो पीठमा राखेर त्यो पहाडको गुफामा लुकाउँछु र यमराजसँग गएर सोध्छु ति दुतहरु किन हाँसेका रहेछन् ?’

चीलले परेवालाई सोही स्थानमा पु¥याएर लुकायो र सिँधै यमलोक गयर यमराजसँग सोध्यो–‘मेरा मित्रलाई हेरेर तिम्रा दूतहरु किन हाँसेका ?’ यमराजले दूतहरुलाई बोलाएर परेवालाई हेरेर हाँस्नुको कारण सोधे । दूतहरुले भने–‘महाराज बूढो परेवा जहाँ थियो त्यहाँबाट एक हजार योजन परको पहाडको गुफामा बस्ने बुढो स्यालले यतिखेर त्यसलाई मार्ने भनेर विधाताले लेखेका रहेछन् । दुबै बुढा भएका कारण परेवा त्यहाँ जान सक्दैन ।

स्याल पनि त्यहाँ आउन सक्दैन अब विधाताले लेखेको कसरी पूरा होला भनेर हामी हाँसेका थियौं तर पूरा हुँदो रहेछ । यो चीलले आफै परेवालाई त्यहाँ पु¥याइदियो ।’ मदूतका कुरा सुनेर चील छक्क प¥यो । उसका मित्र परेवालाई पहाडको गुफामा बस्ने बुढो स्यालले आफ्नो आहारा बनायो । यसकारण, दिन पुगेपछि सबै तारतम्य आफै मिल्छ ।