समाजमा चार किसिमका मान्छे हुन्छन्, जस्ता छन् तिनसँग सोही व्यवहार गर्नु
चार थरिका मान्छे
एकपटक एक राजालाई आफ्नो मन्त्रीको चातुर्यको परीक्षा लिन मन लागेछ । उनले मन्त्रीलाई बोलाएर भने–‘मन्त्री तिमीले यहाँ पनि नभएको त्यहाँ पनि नभएको एक जना, यहाँ भएको त्यहाँ नभएको एक जना, यहाँ नभएको त्यहाँ भएको एक जना र यहाँ भएको त्यहाँ पनि भएको एक जना मान्छे खोजेर ल्याऊ । ’
मन्त्रीले हुन्छ भने । राजाज्ञाको पालना नगर्ने कुरै भएन ।
भोलिपल्ट मन्त्रीले एउटा सन्की, फटाहा,घुमक्कड, एउटी नगरबधु, एउटा सन्न्यासी र एउटा सद्गृहस्थ मान्छेलाई दरबारमा पु¥यायो । मन्त्रीले राजाका अगाडि शीर झुकाउँदै भन्यो–‘ महाराज यो सन्की, फटाहा, घुमक्कड हो यसको यहाँ पनि केही छैन र यसले परलोकमा पनि केही राखेको छैन तसर्थ यो यहाँ पनि र उहाँ पनि केही नभएको मान्छे हो ।’
नगरबधुलाई अगाडि सारेर भने–‘यिनी नगरबधु हुन् । यिनले यहाँ थुप्रो धन जोडेकी छिन् तर कुकर्मका कारण परलोकमा यिनको केही छैन । तसर्थ, यिनी यहाँ भएकी, त्यहाँ नभएकी मान्छे हुन् । ’
सन्न्यासीलाई राजाको अगाडि देखाउँदै मन्त्रीले भन्यो–‘ यी महात्माको यहाँ केही छैन तर परलोकमा सुखैसुख छ तसर्थ यिनी यहाँ नभएर त्यहाँ भएका मान्छे हुन् ।’
अन्त्यमा सद्गृहस्थलाई देखाउँदै मन्त्रीले भने–‘ यी राम्रो विचारधारा भएका गृहस्थ व्यक्ति हुन् । यिनले शास्त्रअनुकूल धर्मपूर्वक गृहस्थ चलाइरहेका छन् । यिनीसँग यहाँ पनि धन छ र यहाँ गरेका पुण्यले परलोकमा पनि अनेक सुख भोग्नेछन् तसर्थ यिनी यहाँ पनि र त्यहाँ पनि भएका मान्छे हुन् ।’
यसकारण, समाजमा मुख्य रुपमा चार खालका मान्छे हुन्छन् । जस्ता छन् तिनसँग सोही अनुसारको व्यवहार गर्नुपर्छ ।