भारतीय अभिनेता गोविन्दा नेपाल आउँदै

सोमबार, १८ कार्तिक २०७६

काठमाडौं– बलिउड अभिनेता गोविन्दा नेपाल आउँदै छन् । उनी कार्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउन लागेका हुन् । महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रण दिएको छ ।

गोविन्द महोत्सवका लागि नेपाल आउन तय भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । महोत्सव उद्घाटन दिन अर्थात कार्तिक २१ गते बिहान गोविन्द बीरगञ्जमा आइपुग्ने आकाशको भनाई छ । उनले कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिने आकाशले जानकारी दिए ।

गोविन्द गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता आहुजा नेपालकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् ।

महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा धेरैजसो नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकारको सहभागिता रहनेछ ।