प्रेरक प्रसंगः जस्ता लाई त्यस्तै गर्ने सक्ने जोतिष

बुधबार, २० कार्तिक २०७६

एक राजाकहाँ कुनै ज्योतिषी आए । राजाले चिना देखाए ।

ज्योतिषीले भने, “महाराज हजुर त साह्रै अभागी हुँनुहुँदो रहेछ । तपाईको सन्तानको पीरमा थुप्रै पटक रुनुपर्छ । थुप्रैको श्राद्ध खानुपर्छ । सबै सन्तानलाई अघि लगाएर मात्र मर्नुहुन्छ ।”

ज्योतिषीका कुराले राजालाई खपिनसक्नु रिस उठ्यो । उनले सैनिकलाई बोलाएर ती ज्योतिषीलाई जेल हाल्न लगाए ।

अर्को दिन अर्को ज्योतिषीलाई बोलाएर राजाले चिना देखाए । ज्योतिषीले हेरेर मनमनै विचार गरे । हिजोका ज्योतिषीले जे भने सहि हो । चिनामा त्यस्तै परेको छ तर…?

ज्योतिषीले राजातिर फर्केर भने, “महाराज हजुर साह्रै भाग्यमानी होइबक्सन्छ, हजुरको आयु अष्टचिरञ्जीवीको झैं लामो छ । हजुरले छोरा नातिको त कुरै भएन, पनाति, फनाति, बनाति, भनाति, मनातिसम्मलाई पनि स्वागत र बिदाइ गर्न पनि भ्याउनुहुन्छ ।”

ज्योतिषीका कुराले राजाले खुसी भएर उनलाई थुप्रै धन दिए । यसकारण सत्य कुरा पनि कसैलाई अप्रिय लाग्ने गरी भन्नु हुँदैन । बोल्दा भाँती पु¥याएर बोल्नुपर्छ ।