आज सार्वजनिक विदा, यस्तो छ कारण

शुक्रबार, २२ कार्तिक २०७६

काठमाडौं – काठमाडौंको बूढानीकलकण्ठ नगरुपालिका, गुल्मीको रेसुंगा नगरपालिका र गुल्मीकै गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक विदा दिएका छन् । हरिबोधिनी एकादशीको अवसरमा यी दुई नगरपालिकाहरुले सार्वजनिक बिदा दिएका हुन् ।

कात्तिक २२ गते शुक्रबारका दिन परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताए ।

नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी तुलसी विवाहका दिन विशेष मेला लाग्ने भएकाले नगरपालिकाभरी सार्वजनिक बिदा दिइएको हो ।

त्यस्तै, गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले का अनुसार धार्मिक परम्परासंग जोडिएको हरिबोधनी एकादशीको दिन बिदा दिन लागिएको हो ।

नगरप्रमुख भुसालद्वारा हस्ताक्षरित सार्बजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएका उल्लेख छ । मेलालाई व्यवस्थित रुपमा मनाउन र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरी नेपाल भ्रमण वर्षलाई सहयोग गर्न सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख भुसालले बताए । रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेश गरेको छ ।

यस्तै, गुल्मीको गुल्मीदरबार गाउँपालिकाले पनि शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते शुक्रबार परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अशोक थापाले बताए । एकादशीका दिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय भएको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।