सभामुख निर्वाचन तयारीमा संसद् सचिवालय, को बन्ला सभामुख ?
काठमाडौं– संसद् सचिवालयले सभामुख निर्वाचनका लागि गृहकार्य थालेको छ । सचिवालयले अनौपचारिक रुपमा सत्तारुढ नेकपासँग छलफल थालेर निर्वाचनको तयारीमा जुटेको छ ।
यता सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि सभामुख निर्वाचनका लागि सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने दबाब दिएको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको हो । उपसभामुखको राजीनामा नगराएमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन । सभामुख पद आफैँसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संविधानमा उल्लेख छ । यसअघि पनि तत्कालीन एमाले र माओवादी केन्द्रले उक्त पद बाँडफाँट गरेका थिए । पार्टी एकीकरणपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुईमध्ये एक पद छाड्नुपर्ने माग गरेको थियो । अदालतमा मुद्दा विचाराधीन भएपछि उक्त विवाद तत्कालका लागि सेलाएको थियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी प्रयासको आरोप लागेपछि पदबाट राजीनामा दिए। राजीनामासँगै सभामुख पद नेकपाले आफैँसँग राख्न उपसभामुखको राजीनामा अनिवार्य छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ संवैधानिक परिकल्पनाअनुसार सभामुख÷उपसभामुखको मनोनयनअघि पार्टीले उपयुक्त निर्णय लिने बताए । सभामुखका लागि नेकपाका दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ र प्रचण्डका विश्वास पात्र अग्निप्रसाद सापकोटाले दौडधुप गरिरहेका छन् ।