कैलालीको स्याउलेदेखि बझाङको उरैसम्म ट्रयाक खोलेर मात्रै कालोपत्रे गर्नुपर्छ : सांसद प्रेम आले

शनिबार, २३ कार्तिक २०७६

काठमाडौं । डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम आलेले कैलालीको स्याउलेदेखि बझाङको चैनपुरहुँदै उरैसम्म ट्रयाक खोलेर मात्रै सडक कालोपत्रे गर्ने योजना अगाडि बढाउन पर्ने अडान लिएका छन्।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै धनगढी–दीपायल द्रुतमार्ग अन्तर्गत सडक डिभिजन कार्यालय कञ्चनपुरले धनगढीको हसनपुर्रदेखि स्याउलेसम्म १० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरे पनि सांसद आलेले भने सुरुमा ट्रयाक खोलेर मात्रै कालोपत्रे गर्न सुरु गर्नुपर्ने अडान लिएका हुन्।

उनले एउटै सडकमा कतै ट्रयाक पनि खोल्न बाँकी रहेको अवस्थामा कतै सडक कालोपत्रे गर्नु न्यायोचित नहुने बताए। उनले धनगढीदेखि स्याउलेसम्म स्थानीय र प्रदेश सरकारको बजेटमा पनि कालोपत्रे हुन सक्ने बताउँदै ट्रयाक खोल्न विनियोजन भएको बजेटमा कालोपत्रेको योजना अगाडि बढाउँदा सामानुपातिक विकास नहुने बताए।

सो सडक निर्माण भएपछि सुदूरपश्चिमको समृद्धिका लागि कोसेढुङगा सावित हुने उनले बताउँदै आलेले भने, ‘अब धनगढीदेखि दीपायलसम्मको सडक द्रुतमार्ग नभई बझाङको चैनपुर हुँदै उरैसम्म पुग्ने सहायक राजमार्ग हो, ‘सुरुमा उरैसम्म ट्रयाक खोलेर मात्रै कालोपत्रे गर्नुपर्छ । ’

उनले भने, ‘केन्द्रमा बजेट माग्दा अन्य जनप्रतिनिधिले साना साना योजनाका लागि माग गरे, मैले सोही सडकका लागि मात्रै बजेट माग गरेर अहिले बजेट विनियोजन भएको छ, उक्त विनियोजित बजेट कैलालीतर्फको खण्डमा मात्रै कालोपत्रे गर्न प्रयोग गर्नु कुनै पनि दृष्टिकोणले न्यायोचित हुँदैन ।’