नेपालबारे अमेरिका अनावश्यक बखेडा झिक्दै
काठमाडौं–अमेरिकाले नेपालसँग अनावश्यक बखेडा झिक्न थालेकाे छ । नेपाल साप्ताहिकले अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनबारे पनि एक सामग्री छापेको छ । नेपाल साप्ताहिकका अनुसार, नेपालमा नभएका मुजाहिद्दीनबारे अमेरिकाले प्रोपोगन्डा मच्चाएको छ ।
नेपालले आफ्नो रिपोर्टमा लेखेको छ– नेपाल प्रहरीको आतंकवादविरुद्ध काम गर्ने विशेष व्युरोले अमेरिकी प्रतिवेदनमा उल्लिखित अंशलाई विश्लेषण गरिरहेको छ । व्युरोका एक उच्च अधिकारीका अनुसार अमेरिकाले दाबी गरेजस्तो नेपाली भूमि आतंकवादी संगठनका लागि हब हुँदै होइन । बरू दुई वर्षअघिसम्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा मुजाहिद्दीनका केही गतिविधि देखिने गरेको थियो ।
भारतले अपराध गरेर उनीहरू नेपालमा आउने गरेका थिए । तर अहिले भारतमै तिनको गतिविधि शून्य भएकाले अमेरिकाले दाबी गरेजस्तो नेपालमा प्रभाव नरहेको प्रहरी अधिकारीहरूको मत छ ।
अमेरिकाले गलत रिपोर्ट दिनुको गुह्य पनि नेपालले खोतल्ने प्रयास गरेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लको विश्लेषणमा नेपालका सुरक्षा अंग आतंककारी गतिविधि रोक्न असफल भएको देखाएर अमेरिकीहरू नेपाल आउन खोजेका हुन सक्छन् ।