भारत विरुद्ध माइतिघरमा अखिल क्रान्तिकारीको विशाल प्रदर्शन, सय बढि विद्यार्थी नेता पक्राउ(भिडियो सहित)
काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भारतीय विस्तारबादको विरुद्ध काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । प्रतिबन्धका बाबजुत काठमाडौंको माइतीघरमा भेला भएर अखिल क्रान्तिकारीले भारतीय विस्तारवादका विरुद्ध प्रदर्शन गरेको हो ।
पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार आज विद्यार्थीले प्रदर्शन गरेका हुन् । नेपाली भुमि लिपुलक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा राखेपछि विप्लवले एक विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेका थिए ।
भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका विप्लवका सय बढि नेता पक्राउ परेका छन् । प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभात भट्टराई, काठमाडौं जिल्ला अध्यक्ष गोबिन्द बिष्ट, छत्र बिक, सुवाष, धनजन, दयाराम, पूर्सणचन्द्र, नबिन बिष्ट लगायत नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो ।
तर काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर बीचमा विप्लव समूहका कार्यकर्ता छिरेको आरोप लगाएका छन् । उनले विप्लवका २० जना कार्यकर्तालाई पक्रेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म २० जना पक्राउ परेका छन् । यो संख्या अझै बढ्न सक्छ ।’
पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको बताइएको छ ।