प्रेरक प्रसंगः साधुको उपदेश, मर्नु ठिक की बाँच्नु ठिक ?
काठमाडौं–एउटा मानछेले कुनै सन्त भएको ठाउँमा गएर भन्यो–‘महाराज, म बाँच्न चाहन्छु ।’
सन्तले भने–‘राम्रो कुरा हो, बाँच, तर रामायण सुनेर बाँच ।’
अर्कोले भन्यो–‘महाराज, म मर्न चाहन्छु ।’
सन्तले भन्यो–‘राम्रो कुरा हो, मर, तर भागवत सुनेर मर ।’
सन्तले बाँच्नु र मर्नु दुवैलाई राम्रो भने । एउटालाई रामायण सुनेर बाँच्ने सल्लाह दिए, अर्कोलाई भागवत सुनेर मर्ने । दुइटैले कुरा बुझेनन् ।
दुवैले सोधे–‘कसरी बाँच्न र मर्न दुवै राम्रो ? किन रामायण र भागवत सुन्नु ?
सन्तले भने–‘बाबु हो, बाँच्नु कुनै ठुलो कुरा भएन, तर आदर्शपूर्वक बाँच्नु ठूलो कुरा हो । रामयणले हरेक मान्छेलाई आदर्शपूर्वक बाँच्न सिकाउँछ, त्यसैले बाँच्न चाहनेले रामायण सुनेर आदर्शपूर्वक बाँच्नुपर्छ ।
त्यस्तै मर्नु पनि कुनै ठूलो कुरा भएन, संसारमा जन्मेका सबैले एक न एक दिन मर्नैपर्छ, तर आदर्श–मरण (मोक्ष) प्रप्त गर्नु चाहिँ ठूलो कुरा हो ।
भागवतले हरेक मान्छेलाई परीक्षितले झैँ आदर्श–मरण (मोक्ष) प्राप्त गर्न सिकाउँछ, आत्महत्या गर्न हैन । कसरी मर्ने भनेर सिकाउने ग्रन्थमा नाम हो भागवत, त्यसैले मर्न चाहनेले भागवत सुन्नुपर्छ ।’