धोवीचौरको जग्गा विप्लवको नाममा

बुधबार, २७ कार्तिक २०७६

काठमाडौं–समाजका अगुवा मानिएका टाठाकाठा व्यक्तिहरुले सार्वजनिक पर्ति जग्गा कब्जा गरेर आफ्नो नाममा दर्ता गराएको बारेमा छानबिन गर्न सरकारले आयोग नै गठन गरेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं. १७ मा रहेको धोवीचौर स्थानीय विप्लवमान सिंह डंगोलले आफ्नो नाममा दर्ता गरेर जग्गा दर्ता प्रमाण पुर्जा लिएको थाहा भएको छ ।

उनले धोवीचौरको सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराएर घर बनाउनका लागि नक्सापास गर्न काठमाडौं महानगरपालिका वडा नं. १७ मा निवेदन दिएपछि उनले सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको खुलेको हो ।

उनले नक्सापासको सिफारिसका लागि वडा कार्यलयमा निवेदन दिएपछि वडा अध्यक्ष नवीन मानन्धरले सिफारिस दिन मानेनन् । त्यसपछि उक्त कुरो सार्वजनिक भयो । डंगोलले घर बनाउन सिफारिस मागेको जग्गा सार्वजनिक जग्गा भएको प्रमाण बोकेर स्थानिय रिव विक्रम राणा बसेका छन् ।

धोवीचौर आफ्नो नाममा दताए गरेर घर बनाउन अनुमति माग्ने विप्लवमान सिंह डंगोल कम्प्युटर एसोसिएसनका पूर्वअध्यक्ष हुन् । राज्य सत्तामा सहज पहुँच भएका डंगोलसँग यस सम्बन्धमा कुरा गर्न सम्पर्क गर्दा उनले यो धेरै पुरानो कुरा भएको बताए ।

२०४२ सालमै त्यो जग्गा दर्ता भएको बताउँदै २०५५ सालमा बुबाको नामबाट आफ्नो नाममा आएको बताए । उनले उक्त जग्गा धोवीचौर नभएको तर धोवीचौरसँगै रहेको गुठीको जग्गा भएको बताए । उनले भने,‘त्यसमा धोवीहरुले मिस युज गरेका छन्, अब सफा गछौँ ।
तर वडा अध्यक्ष मानन्धर उनको कुरा मान्न तयार छैनन्। उनी भन्छन्, ‘त्यो सार्वजनिक जग्गा नै हो, धावीचौर नै हो , त्यसमा घर बनाउन सिफारिस दिन सक्दिन ।’ उक्त समाचार आजको आर्थिक दैनिकमा प्रकाशित छ ।