विप्लवका सेक्सन अध्यक्षसहित दुई जना पक्राउ
दाङ– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सेक्सन इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विप्लवका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगी र सेक्सन अध्यक्ष प्रकाश बुढामगरलाईे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७ प १२०४ नम्बरको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान थालिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विप्लव नेकपाका सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका–१ पटेरीखोला निवासी ३० वर्षीय प्रकाश बुढामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनलाई एक्लै हिँडिरहेको अवस्थामा शुक्रबार बेलुका ६ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर राखिएको छ ।