कपिलवस्तुको शिवनगरमा भेटिएको हतियार प्रहरीकै

आइतबार, १ मंसिर २०७६

काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवनगरमा भेटिएको हतियार आफ्नो नभएको बताएका छ । शनिबार दिउसो शिवनगरमा प्रहरीले फेला पारेका ५ थान एसएमजी राइफल आफ्नो नभएको नेकपाले जनाएको छ ।

शनिबार दिउसो प्रहरीले ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरेको थियो । उक्त हतियार विप्लव नेतृत्वको नेकपाको हुनसक्ने भन्दै प्रहरीले प्रचार गरेको थियो ।

उक्त हतियार नेकपाको रहेको भनी गराइएको प्रचारलाई नेकपाले भ्रमपूर्ण, कपोलकल्पित, नियोजित षड्यन्त्रपूर्ण प्रचारबाजी रहेको भन्दै आपत्ति प्रकट गरेको छ । पार्टीका राप्ती ब्युरो इन्चार्ज समरले विज्ञप्ति जारी गर्दै उक्त हतियार पार्टीमाथि दमन गर्ने सरकारी षड्यन्त्रबमोजिम आफैँले राखेर भ्रमपूर्ण प्रचार गराएको जनाएका छन् ।