आज किन भएन मन्त्रिमण्डल पुनर्गठन ? यस्तो छ माधव नेपाल र प्रचण्डको भित्रि चलखेल

सोमबार, २ मंसिर २०७६

काठमाडौँ – आन्तरिक विवादका कारण आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन रोकिएको छ । सत्तमरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति नहुँदा आज हुने भनिएको मन्त्रीमण्डल पुनर्गठन रोकिएको हो ।

मन्त्री हेरफेरका लागि नेकपाका नेताहरुको बिहानैबाट दौडधूप चलेको छ । सहमति गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा झण्डै २ घण्टा भेटवार्ता भयो । त्यस्तै सोमबारै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच पनि लामै कुराकानी भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ओली–प्रचण्ड भेटमा बहिर्गमनमा पर्न लागेका र थपिने मन्त्रीका बारेमा टुंगो लगाउने बुझिएको छ ।त्यसअघि प्रधानमन्त्री केपी ओलीले सोमबार बिहान मन्त्रिमण्डल हेरफेरबारे आफू निकटस्थहरुसँग छलफल गरेका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो । त्यसपछि नेताहरुबीच सम्बाद र भेटवार्ता बाक्लिएको हो ।

सोमबारै मन्त्रीहरु वर्षमान पुन र रघुवीर महासेठ पनि प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओलीले चौमासिक कार्यसम्पादन मूल्यांकनमा सन्तोषजनक परफमेन्स नदेखाएका मन्त्रीहरूलाई र्फेने अध्यक्ष प्रचण्डसँग यसअघि नै छलफल गरिसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापामगर, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको पछिल्लो कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नपाएको ओलीको मूल्याङकन छ ।

नयाँँ बन्न लागेका मन्त्रीहरुको नाममा सहमति नभएका कारण आज मन्त्रीमण्डल पुनर्गठन हुन पाएन् । मंगलबार विहान छलफल गरेर नयाँ मन्त्रीहरुलाई दिउसो सपथग्रहण गरिने बालुवाटार निकट श्रोतको भनाई छ ।