उच्च अदालतको न्यायाधीशमा १२ जना सिफारिस (नामावलीसहित)

बुधबार, ४ मंसिर २०७६

काठमाडौं – उच्च अदालतको न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस भएको छ । आज बसेको न्याय परिषदकोे बैठकले जिल्ला न्यायाधीशमध्येबाट ६ जना, अधिवक्तामध्येबाट ५ जना, न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी १ जनालाई उच्च अदालतको न्यायधीश बनाउँका लागि सिफारिस गरेका हो ।

उच्च अदालतको न्यायाधीश सिफारिस हुनेमा जिल्ला न्यायाधीशमध्येबाट जिल्ला अदालत झापाका किरणकुमार पोखरेल, नवलपरासीका मुरारीबाबु श्रेष्ठ, काठमाडौंका सुदर्शनराज पाण्डे, बाराका दीपेन्द्र अधिकारी, रुपन्देहीका रमेशराज पोखरेल, डोल्पाका नरिश्वर भण्डारी रहेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यस्तै अधिवक्तामध्येबाट भोजपुरका मिलनकुमार राई, चितवनका राजुराम सिलवाल, डोटीकी मेरिना श्रेष्ठ, मोरङकी मीना गौतम सेढाई र चितवनका सोमकान्त मैनाली उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृतको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।