पूर्व सभामुख महराले गरे उच्च अदालत मुद्दा दायर
काठमाडौं– पूर्व सभामुख महराले उच्च अदालत मुद्दा दायर गरेका छन् । संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका हुन् ।
थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भन्दै महराले निवेदन दर्ता गरेका छन् ।
‘थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भनी मुलुकी कार्यविधिसंहिताको दफा ७३ बमोजिम कृष्णबहादुर महराको निवेदन प्राप्त भएको छ,’ उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले भने । जिल्ला अदालतको आदेशअनुसार महरा हाल डिल्लीबजार कारागारमा थुनामा छन् ।