पहिलोपटक प्रहरी चौकी स्थापना भएकाे ठाउँ

शुक्रबार, ६ मंसिर २०७६

धादिङ–धादिङ जिल्लाको विकट हिमाली क्षेत्र रुवीभ्यालीको लापामा पहिलोपटक प्रहरी पुगेको छ । स्थानीय जनताले लामो समयदेखि प्रहरी चौकीको माग गर्दै आएका थिए । गत असोज ७ गतेको मन्त्रिपरिषद बैठकले थप रकम निकासाका गर्ने अनुमति दिएपछि रुवीभ्यालीमा प्रहरी चौकी निर्माण सम्पन्न भएको हो ।

रुवीभ्याली गाउँपालिका–५ लापामा निर्माण भएको प्रहरी चौकीको बिहीबार उद्घाटन गरिएको छ । धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राज कुमार बैदवार र रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङले बिहीबार आयोजित कार्यक्रममा उक्त प्रहरी चौकीको संयुक्त रुपमा उद्‍घाटन गरे ।

भौगोलिक कठिनाइको कारण संवेदनशिल मानिएको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएबाट त्यहाँका नागरिकले सहज रुपमा प्रहरी सेवा प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राज कुमार बैदवारको भनाइ छ ।

प्रहरी चौकीको उद्घाटन कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक मुकुन्द मरहठा, रुवीभ्याली गाउँपालिकाका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।