सरकारमा बस्ने कि छाड्ने ? : समाजवादीको पदाधिकारी बैठक बस्दै
समाजवादी पार्टी नेपालले आज दिउँसो पदाधिकारी बैठक डाकेको छ। पछिल्लोपटक सरकारले चालेको कदमबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो।
बैठक दिउँसो ४ बजे बालकुमारीस्थित पार्टी कार्यालमा बस्ने पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।
बुधवार पार्टीका केन्द्रीय अध्यक्ष तथा सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अनुपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको हेरफेर गर्नुका साथै सरुवासमेत गरेको थियो।
जसमा यादव स्वास्थ्यबाट सरुवा भएर कानुन मन्त्रालय पुगेका छन्। यता समाजवादीकै कोटामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्यमन्त्री डा सुरेन्द्र यादवलाई समेत हटाएको छ। उक्त पदमा प्रधानमन्त्री ओलीले समाजवादीका कुनैलाई जिम्मेवारी दिएको छैन।
सरकारको पछिल्लो कदमले समाजवादी रुष्ट भएको छ। यस्तो अवस्थामा सरकारमा बस्नुभन्दा पनि बाहिरिनु नै उपयुक्त हुने निष्कर्षमा पार्टी पुगेको बताइन्छ।