‘विप्लव’ नेकपाले पार्टी पुनर्गठन दिवस मनाउँदै

आइतबार, ८ मंसिर २०७६

काठमाडौं–प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले आइतबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । ८ मंसिर २०७१ सालमा तत्कालीन नेकपा–माओवादीबाट विप्लव नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो ।

त्यही दिनको सम्झनामा विप्लव नेकपाले आज देशभर कार्यक्रम आयोजना गरेर पार्टी पुनर्गठन दिवस मनाउने विप्लव पार्टी स्रोतको भनाइ छ । आजकै दिन २०५८ सालमा माओवादीले जनयुद्ध सुरू गर्दा जनमुक्ति सेनाको औपचारिक रूपमा घोषणासमेत गरेको थियो । त्यही सम्झनामा विप्लव नेकपाले आजको दिनलाई विशेष रूपमा हेर्दै आएको छ ।

विप्वल नेकपा स्रोतका अनुसार सुरक्षा अवस्था पार्टी अनुकूल रहे आज विप्लवले रोल्पाबाट शुभकामना सन्देश सार्वजनिक गर्ने र पार्टीनिकट सञ्चरमाध्यमबाट अन्तर्वार्तासमेत सार्वजनिक गर्ने कार्यतालिका राखिएको छ । त्यस्तै, उपत्यकामा गोप्य छलफल, कालिकोटक, मुगु, जाजगकोट, कैलाली,बाँके, दाङ, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलवस्तुमा गोप्य सभाको तयारी गरेका छन् ।

त्यस्तै पूर्वको झापा, इलाम, संखुवासभा, ताप्लेजङ, सोलुखम्बु र भोजपुरमा समेत कार्यक्रम गर्ने तयारी गरेका छन् । सरकारले गतवर्ष २८ फागुनमा प्रतिबन्ध लगाएसँगै विप्लव नेकपाले खुला कार्यक्रम गर्न पाएको छैन ।