प्रेरक प्रसंगः जीवनकाे वास्तिवकताबारे बुद्धलाई सारथिले दिएकाे उपदेश

सोमबार, ९ मंसिर २०७६

काठमाडौं–‘युवक महोत्सव’सञ्चालन भयो एउटा गाउँमा । बुद्ध त्यसमा भाग लिन गए । जादैँ गर्दा बाटोमा उनले एक जना बुढो मानिस देखे ।

उनले आफ्ना सारथिसँग सोधे–“यो मानिसलाई के भएको हो ?”

सारथिले उत्तर दिए –“यो मानिस बुढो भएको हो । युवावस्था सकिएपछि बूढेसकालको अवस्था आउँछ ।”

बुद्धले अचम्म मान्दै सोधे–“अवस्थामा पनि परिवर्तन हुन्छ र ? के म पनि पछि यही मानिसजस्तै बूढो हुनेछु ?”

निकै अचम्मकोे कुरा हो ! बुद्धले सीधै ‘के म पनि बूढो हुनेछु’ भनेर सोधे । तपाईले कुनै बूढो व्यक्तिलाई देख्दा ‘के म पनि बूढो हुनेछु’ भनेर आफ्ना मान्छेसँग सोध्नुहुन्छ ? तपाईले त मात्रै ‘यो व्यक्ति बूढो भएछ’ भनेर सोच्नुहुनेछ । यो घटना तपाईसँग सम्बन्धित हुनै पाउँदैन । तपाई ‘यो व्यक्ति बूढो भयो भने म पनि बूढो भइसको भनेर देख्न सक्नु हुन्न ।

जब कुनै फूल ओइलाएर झर्छ, त्यसबेला तपाई उक्त फूललाई ओइलाएर झरेको मात्रै देख्नुहुन्छ, त्यो फूल ओइलाउनु तपाईसँग सम्बन्धित हुँदैन । के तपाई त्यो फूल ओइलाउँदा आफू पनि ओइलाएको देख्न सक्नुहुन्छ ? यदि देख्न सकनुहुन्न भने तपाईमा अध्यात्मको प्यास कसरी उत्पन्न हुन सक्छ ?

बुद्धले भने–“त्यसो भए त म पनि बूढो भएँ । रथ फर्काऊ । युवाको महोत्सवमा गएर मैले के गर्ने ? म त बूढो भइसकेँ । त्यो त युवाहरुको उत्सव हो । त्यो त युथ फेस्टिबल हो । मैले त्यहाँ गएर के गर्न सक्छु र ? रथ फर्काऊ– म बूढो भइसकेँ ।’

सारथिले अचम्म माने–“तपाई कस्तो पागल हुनुभएको ! त्यो मानिस पो बूढो भएको हो, तपाई कहाँ बूढो हुनुभएको छ ?”

त्यही बेलामा एउटा लास बोकेर मलममी उनीहरुको अगाडिबाट घाटतिर गए ।

बुद्धले सोधे– “यो के हो ?”
सारथिले भने– “यो मरेको मान्छे हो ।”
बुद्धले सोधे– “के म पनि मर्नेछु ?”
बुद्धले जसरी सोधिरहेका छन्, यो निकै अर्थपूर्ण कुरा हो । उनले त्यो मान्छे मरेको थाहा पाए । बुद्धले ‘ के म पनि मर्नेछु ?’ भनेर सोधे ।

जीवनका सबै तथ्य ‘म’ सँग सम्बन्धित भयो भने क्रान्ति हुन्छ ।

सारथिले भने – “मैले कसरी भन्ने ? यसबाट त कोही पनि अपवाद हुन सक्दैन । तपाई मर्नैपर्छ । जो जन्मिएका छन्, सबैले मर्नैपर्छ ।”

बुद्धले भने– “त्यसो भए म मरेँ । रथ  फर्काऊ । हामी सबै मुर्दा हौँ । मओत्सवमा मुर्दा जान सक्दैन ।”

सारथिले रथ फर्काए । ती युवकको जीवनमा क्रान्ति घट्यो ।