दाङ्को हुने उपनिर्वाचनमा तेस्रोलिङ्गीको पनि मतदाता

बुधबार, ११ मंसिर २०७६

दाङ– मंसिर १४ गते हुने उपनिर्वाचनमा दाङमा तेस्रोलिङ्गीकाे पनि मतदाता हुने भएकाे छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १ सय ७२ मतदाता रहेकामा ३७ हजार ३ सय ५ महिला मतदाता छन् ।

पुरुष मतदाता ३५ हजार ८ सय६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दङ्गीशरण गाउँपालिकामा ७ हजार ९ सय ८१ महिला तथा सात हजार ७ सय १५ पुरुष मतदाता छन् ।

शान्तिनगर गाउँपालिकामा ९ हजार २ सय ८३ महिला र ८ हजार ८ सय २० पुरुष मतदाता छन् । बबई गाउँपालिकामा ९ हजार ५ सय ११ महिला र ९ हजार ३ सय ३८ पुरुष मतदाता रहेको कुँवरले बताए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–१, २, १० र ११ मा आठ हजार १ सय ६५ महिला, सात हजार ९ सय ५ पुरुष र एक तेस्रोलिङ्गी मतदाता छन् । घोराही उपमहानगरपालिका–१६ मा दुई हजार ३ सय ६५ महिला र दुई हजार ८८ महिला मतदाता छन् ।

चुनावलाई मर्यादित बनाउन विप्लव नेकपालाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनका अनुसार विप्लव नेकपा घोषितरूपमै निर्वाचन भड्काउनका लागि सक्रिय भएकाले निगरानी बढाइएको हो । यहाँ छ अति संवेदनशील र २६ संवेदनशील मतदानस्थल रहेका छन् ।