प्रेरक प्रसंगः नोकर राष्ट्रपति भएपछि…

शुक्रबार, १३ मंसिर २०७६

काठमाडाैं–यदि कुनै व्यक्ति नोकर थियो र पछि राष्ट्रपति भयो भने पनि ऊभित्रको जुन खालीपन नोकर हुँदा थियो राष्ट्रपति हुँदा पनि सँगै रहन्छ । कुर्सी ठूलो हुँदै जान्छ, ऊ आकासमा बस्न थाल्छ तर ऊसभित्रको त्यसबेलाको खालीपन ऊसँगै रहन्छ । त्यसबेला उसलाई थाहा हुन्छ, राष्ट्रपति भए पनि केही हुँदैन ।

सुरुमा त उसलाई आफू संसारको प्रमुख हुन आवश्यक छ जस्तो लाग्छ । राष्ट्रसङ्घ प्रमुख होऊँजस्तो लाग्छ । पुरै संसार एउटै राज्य होस् र म त्यसको प्रमुख होऊँ भन्ने लाग्छ । जब त्यहाँ पुग्छ, ऊ असन्तुष्ट हुन्छ । त्यहाँ पनि केही नभएको पाउँछ ।

उसले आफूभित्रको खालीपनलाई सँगै लिएर हिँडिरहन्छ । हामी जति नै चिज जम्मा गरौँ, अन्तिममा पहिला पनि हामी भित्रबाट खाली थियौँ, अहिले पनि खाली नै छौँ भन्ने थाहा हुन्छ । त्यसबेला छट्पटाहट उत्पन्न हुन्छ । छट्पटाहट फ्रस्टेसन बन्छ । चिन्ता, अशान्ति उत्पन्न हुन्छ ।

लाग्छ– “भरिएकै छैन । खाल्डो त्यसबेला पनि खाली थियो र अहिले पनि खाली छ । किन यस्तो भयो ?”

दुःखलाई भर्ने जीवनका सबै प्रयासहरु अन्ततः असफल भएर जान्छ । जीवनभरि हामी कसैको प्रेमद्वारा आफूलाई भर्न खाज्छौँ । परिवारद्वारा आफूलाई भर्छौ । अन्तिममा भरिएकै हुँदैन । त्यसबेला हामी ती चिजप्रति रिसाउँछौँ । तिनलाई गाली गर्छौ ।

जोसँग हामीले प्रेम गर्‍यौँ त्यसबाट भरिएन भन्ने हामीलाई लाग्छ ।

त्यसबेला ‘तिमीले पक्कै केही गडबडी गर्‍यौ’ भन्दै हामी तिनै चीजमाथि खनिन्छौँ । तिनैलाई दुःख दिन्छौँ । तर गडबडी तिनीहरुको होइन । गल्ती अरुको होइन । भित्र कुनै यस्तो शुन्य चीज छ, जुन कहिल्यै भरिँदैन ।

शुन्य चिज भरिँदैन भन्ने हामीलाई थाहै हुँदैन । त्यसैले जसलाई प्रेम गर्छौ, उसैबाट दुःखी हुन्छौँ । उसमाथि क्रोधित हुन्छौँ ।

सोच्छौँ– “मैले उसलाई प्रेम गरेँ तर उसले गरेन ।”

त्यसैले भित्र दुःखको अनुभव भइरहेको हुन्छ । अरुका कारणले दुःख भएको हाइन । उसबाट प्रेम पाएको भए पनि कुनै फरक पर्ने थिएन । उसको प्रेमले भित्र गएर खालीपनलाई भर्न सक्दैन । खालीपन जस्ताको तस्तै रहिरहन्छ । त्यसबेला ‘सायद मसँग कम रुपैयाँ छ त्यसैले भर्न सकिरहेको छैन’ भन्दै हामी दुःखी हुन्छौँ । जोसँग धेरै धन छ, उनीहरु भरिएका हालान् भन्ने सोच्छौँ । त्यसपछि हामी धेरै रुपैयाँ कमाउने दौडमा लाग्छौँ ।

चाहेजति रुपैयाँ प्राप्त होस् तर पनि हामी आफूभित्र खाली नै भएको पाउछौँ । अझै दौड चलिरहन्छ, तर मान्छेभित्रको खालीपन बनिरहन्छ । केही गरे पनि भित्रको खालीपालाई न कहिल्यै भर्न सकिएको थियो र न कहिल्यै भर्न सकिन्छ ।

यो अनिवार्य सत्यलाई, यो तथ्यलाई स्पष्टसँग बुझ्नु जरुरी छ ।