भलिबल टोली सागको सेमिफाइनलमा

शुक्रबार, १३ मंसिर २०७६

काठमाण्डौ– नेपाली महिला भलिबल टोली १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई तीन–शून्यको सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

लगातार २ खेलमा जित निकाल्दै भारत समूह ए बाट समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो भने नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतियोगितामा दुवै खेलमा हार बेहोरेको बंगलादेश भने बाहिरिएको छ । समूहको पहिलो खेलमा नेपालले बंगलादेशलाई तीन–शुन्यको सोझो सेटमा हराएको थियो भने भारतसँग तीन–शून्यले नै पराजित भएको थियो ।

अब नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउनेछ ।