आज विजोर नम्बरका गाडीमात्र गुडाउन पाइने, सागको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने

आइतबार, १५ मंसिर २०७६

काठमाडौं– आइतबारदेखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । केही खेल शुरु भए पनि सागको औपचारिक उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तथा विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले बिजोर नम्बरका गाडी मात्रै चलाउन भनेको छ । ‘खेलकूद प्रतियोगितालाई शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापनमा समस्या नहोस् भनेर जोर–बिजोर प्रणाली लागू गरिएको हो।

आइतबार बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइन्छ, त्यही पनि अत्यावश्यक भएमा मात्रै, नत्र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने । समापनको दिन मंसिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका लागि भने यो नियम लागू हुने छैन । जथाभावी रुपमा बाटो नकाट्न र हर्न नबजाउनसमेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ । सागका लागि प्रहरीले पार्किङ व्यवस्थापनलाई चुस्त बनाएको छ । सर्वसाधारणका लागि टुँडिखेल र पत्रकारका लागि नेपाली सेनाको अफिसर्स क्लबमा सवारी पार्किङको व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित बाहेक खेलकै लागि ७ सय ट्राफिक प्रहरी खटाएको छ ।

सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । झण्डै दुई दशकपछि नेपालले तेस्रो पटक साग आयोजना गर्ने अवसर पाएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को सङ्घारमा आयोजना भएको सागले विश्वमै नेपालको प्रचार हुने भएकाले पनि शान्ति सुरक्षा अझै विशेष छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा रहेको सुरक्षा समन्वय समितिले सुरक्षाकर्मी परिचालन गरेको छ । जनकपुरमा प्रदेश नं २ र पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् । ‘शान्ति, मित्रता र समृद्धि’ को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।

खेलाडीलाई आवासस्थानदेखि खेलस्थलसम्म जान आउनका लागि प्रहरीले स्कटिङको व्यवस्था गरेको छ । दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । प्रहरीले विमानस्थल प्रवेशद्वारदेखि नै खेलाडी र विशिष्ट पाहुनाको विशेष सुरक्षा निगरानी गरेको छ भने आवागमनका लागि सुरक्षा सहजीकरण गरिरहेको छ ।