प्रेरक प्रसंगः सन्यासीले आफूले आफैले ब्रह्म हुँ भनेपछि…..

सोमबार, १६ मंसिर २०७६

काठमाडाैं–एक सन्यासी मेरा मित्र थिए । उनी सधैँ म ब्रह्मा हुँ अहम् ब्रह्मास्मि को स्मरण गर्थे ।

मैले उनीसँग भने– “तपाईलाई यसका बारेमा थाहै छैन, त्यसैले बारम्बार दोहोर्‍याइ रहनुहुन्छ । यदि ‘म ब्रह्म हुँ ’ भनेर था हुन्थ्यो भने बारम्बार ‘अह्म् ब्रह्मास्मि’, ‘अह्म् ब्रह्मास्मि’ किन भन्नुपर्‍यो ? यस्तो भन्नु तपाईलाई थाहा छैन भन्ने कुराको प्रमाण हो । यदि तपाईलाई थाहा छ भने कुरै सकियो । स्मरण राख्न्पर्ने आवश्यकता किन पर्छ र ? स्मरण त तिनै चिजको राखिन्छ जसका बारेमा हामीलाई थाहा हुँदैन ।”

अज्ञानको स्मरण राखिन्छ । ज्ञानको कुनै स्मरण राखनु पर्दैन । ज्ञान छ भन्ने तपाईलाई थाहा भयो भने कुरै सकियो । मृत्यु छ भन्ने तपाईलाई थाहा भयो भने कुरै सकियो । मृत्युले दिन–रात चारैतिरबाट मलाई घेरिरहेका छ भनेर हेर्नुपर्ने आवश्यकता कहाँ हुन्छ र ? यदि तपाईले मृत्युले मलाई चारैतिर घेरेको छ’ भनिरहनुभयो भने त्यसका बारेमा तपाईलाई थाहै छैन । तपाई एउटा झूटो कुरालाई बारम्बार दोहोर्‍याएर आफैँलाई विश्वास दिलाईरहनुभएको छ । मैले मानिसहरुलाई देखिरहेको हुन्छु, उनीहरु यस्तै खालका झूटा कुरा धेरै दिनसम्म दोहोर्‍याइ रहन्छन् । आफूले केही कुरा पत्ता लगायो भन्ने उनीहरुलाई लाग्छ ।

होइन, मैले कहिल्यै सतत् स्मरण राख्न भनेको छैन । स्मरण त उपलब्ध हुनुपर्छ । सतत् स्मरण राख्नु अर्कै कुरा हो । स्मरण उपलबध हुनुपर्छ । तपाईको आफूभित्र मृत्यु छ भन्ने जागरण हुनुपर्छ । कुरै सकियो । त्यसपछि याद किन गरिरहनुपर्‍यो ? व्यर्थैका कुरामात्रै याद राख्नुपर्छ । जुन कुरालाई तपाईले जान्नुहुन्छ त्यसलाई याद राख्नु पर्दैन । त्यसैले स्मृति ज्ञान होइन । ज्ञान अर्कै कुरा हो । स्मृति भुल्न सकिन्छ , ज्ञान कहिल्यै भुलिँदैन । जुन कुरालाई याद राखिन्छ , कुनै दिन भुल्न सकिन्छ । जसलाई जानिसकिएको छ त्यसलाई भुल्ने उपाय नै हुँदैन किनभने त्यसलाई याद गरिएको होइन । त्यसलाई त जानिएको हो । जुन जानिसकिएको छ त्यसलाई कहिल्यै भुलिँदैन । जुन याद गरिएको हुन्छ त्यसलाई जुनसुकै बेला भुल्न सकिन्छ । त्यसैले मैले तपाईहरुसँग यस्तो भनेको छैन–तपाई बस्दा, उठ्दा, सुत्दा, जाग्दा मृत्यु अवश्य हुन्छ भनेर स्मरण राख्नुहोस् । यस्तो गर्दा त पागल बनिन्छ । यसरी स्मरण राख्न थाल्नुभयो भने जीवन अवश्य गडबड हुनेछ ।

मैले त भनिरहेको हुन्छु–जान्नुहोस्, जाग्नुहोस् र वास्तविकता के हो भनेर हेर्नुहोस् । बल्ल तपाईले मृत्युलाई देख्नुहुनेछ । जब तपाईले मृत्यु देखनुहुनेछ यदि मृत्यु छ भने जीवन के हो भन्ने आकाङ्क्षा तपाईभित्र उत्पन्न हुनेछ ।

तपाईलाई लाग्नेछ– यदि सबै चिज मृत्यु हो भने जीवनलाई जान्नका लागि म के गर्न सक्छु ।

त्यसपछि तपाईभित्र प्यास उत्पन्न हुनेछ । त्यस प्यासका लागि मैले मृत्युप्रति जाग्नु उचित हुन्छ भनेको हुँ ।