रोशनी एक्कासी अदालत पुगिन् महरालाई छुटाउँन, आखिर किन ?

बुधबार, १८ मंसिर २०७६

काठमाडौं– बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाही उच्च अदालत पाटन पुगेकी छिन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

गत १८ कात्र्तिकमा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छिन् ।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुगेकी छन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोलि इजलासमा पेश हुनेछ ।