प्रेरक प्रसंगः एक युवतीले दिइन् परमात्माप्रति श्रद्धा गर्न राजालाई उपदेश

बिहिबार, १९ मंसिर २०७६

काठमाडौं–एक मुसलमान राजाको जीवनमा उल्लेख छ– उनी एकपटक शिकारका लागि जङ्गल गए । सूर्य अस्तायो । साँझ प¥यो । उनी गाउँ फर्किन सकेनन् । बाटो बिर्सिए । उनी जङ्गलकै एउटा सानो खुल्ला ठाउँमा बसेर साँझको प्रार्थना गरे ।

उनी प्रार्थन गर्न बसे । प्रार्थन गर्न बसेकै अवस्थामा परमात्माप्रति श्रद्धा व्यक्त गर्न उनले आफ्नो शिर झुकाए । त्यही बेला एक युवती उनलाई धकेल्दै करिबकरिब उनको प्रार्थनाका लागि ओछ्यइएको कपडा हुँदै अगाडि बढिन् र त्यहाँबाट जङ्गलतर्फ लागिन् ।

राजालाई अत्यन्तै रिस उठ्यो । उनले मनमनै सोचे–‘ यो कस्ती अशिष्ट युवती हो ! यसलाई कसैले प्रार्थना गरिरहेको छ भन्ने थाहै छैन । यसले यस्तो गर्नु हुँदैन थियो ।’

उनी प्रार्थना सकेर उठे । ती युवतीलाई उनीतर्फै आइरहेको उनले देखे । उनले युवतीलाई रोक्दै भने–‘यो कस्तो व्यवहार हो ? कस्तो अशिष्टता हो ? कस्तो संस्कारशून्यता हो ? देशका राजाले प्रार्थना गरिरहेको ठाउँमा उसैलाई धकेलेर जाने ? यदि राजा नभई अन्य कसैले गरिरहेको हुन्थ्यो भने पनि उसलाई धकेलेर अशिष्टता प्रदर्शन गर्नु हुँदैन । थोरै त शंकोच हुनुपर्छ नि ।’

युवतीले भनिन्– ‘के तपाइँ बाटोमै बसेर प्रार्थना गर्दै हुनुहुन्थ्यो ? मलाइ थाहै भएन । म आफ्ना प्रेमीलाई भेट्न गइरहेको थिएँ । मलाइ बाटोमा को छ र को छैन भनेर थाहै भएन । मैले बाटोमा कसैलाई देखिनँ । तपाइँलाई पनि देखिनँ ।’

युवतीले अगाडि भनिन्–‘ मलाइ एउटा कुरा अचम्म लाग्यो । तपाइँ प्रभूको प्रार्थना गरिरहनुभएको थियो । यदि प्रभूको ध्यान गरिहनुभएको थियो भने मैले धकेलेको बोध नहुनुपर्ने हो । म त आफ्नो प्रमीको लागि पागल थिएँ, त्यसैले मैले तपाइँलाई देखिनँ । के तपाइँ परमात्माका लागि म जति पागल हुनु हुन्न ? मेरो प्यास त आफ्ना प्रेमीतर्फ थियो त्यसैले मैले केही देखिनँ, तर तपाइँको प्यास के परमात्माप्रति यति गहिरो पनि थिएन, मैले धकेल्दा तपाइँलाई त्यसको बोध नहोस् ?’