प्रेरक प्रसंगः बुद्ध भन्छन् चित्तमा कम्पन कहिल्यै नआओस्
काठमाडौं–एक जना मुल्ला नसरुद्दीन रक्सी धेरै पिएर घर फर्किए । उनले हातमा चाबी लिएर ताल्चामा छिराउन खोजे । चाबी प्वालमा छिरेन । उनका हात काँपिरहेका थिए ।
नजिकै एक जना पुलिस उभिइरहेको थियो । उसले नसरुद्दीनको असफलता हेरिरहेको थियो ।
उसले भन्यो–‘ म केही सहायता गरौं ? दिनुहोस् मलाई चाबी मैले खोलिदिन्छु ।’
नसरुद्दीनले प्रतिक्रिया दिए–‘ तिमी चाबीको चिन्ता नगर । बरु तिमी यस काँपिरहेको घरलाई समाइदेऊ । चाबी म आफैं खोल्नेछु ।’
जब मानिसहरु रक्सी पिएर काँपिरहेका हुन्छन्, उनीहरुलाई आफू काँपिरहेजस्तो लाग्दैन । घर काँपिरहे जस्तो लाग्छ ।
तपाइँले कहिल्यै रक्सी पिउनुभएको छ ? भाङ खाएर बाटोमा हिड्नुभएको छ ?
अवश्य पनि हिँडेर हेर्नुपर्छ । एकपटक अनुभव गर्नुपर्छ ।
आफ्नो जीवनका बारेमा थाहा हुनेछ । आफैं खण्ड खण्ड भएको थाहा हुनेछ । बाहिरका चिज त अखण्ड छन,् तपाई अनेकौं टुक्रामा बाँडिनुभएको हुन्छ । ऐना फुट्दा अनेकौं चित्र देखिन्छन्, तर चित्र एउटै हुन्छ ।
बुद्ध भन्छन्–‘ चित्तमा कम्पन नआओस् । जसरी दियोको लप्का एकै ठाउँमा बस्छ ।’