रोनाल्डोलाई पछि पार्दै मेसीले बनाए फेरि अर्को रेकर्ड

आइतबार, २२ मंसिर २०७६

उत्कृष्ट फुटबल खेलाडीलाई दिइने फिफा  अवार्ड ६ पटक जितेका बार्सिलोनाका खेलाडी लियोनल मेसीले नयाँ रेकर्ड कायम गरेका छन् । शनिबार राति सम्पन्न घरेलु लिग ला लिगा अन्तर्गको खेलमा मेसीले क्रिस्टियोनो रोनाल्डोलाई पछि पार्दै ला लिगामा सवाधिक ह्याट्रिक गर्ने खेलाडीमा आफ्नो नाम लेखाएका छन् । यसअघि मेसी र रोनाल्डोको नाममा समान ३४–३४ ह्याट्रिक भए पनि मर्योकाविरुद्धको खेलमा पनि ह्याट्रिक पूरा गरेपछि मेसीले रोनाल्डोलाई पनि पछि पारेका हुन् । मेसीले मर्योकाविरुद्ध खेलको १७ औं, ४१ औं तथा ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । जारी सिजनमा मेसीको यो दोस्रो ह्याट्रिक हो । उनले यसअघि सेल्टाभिगोविरुद्ध पनि ह्याट्रिक पूरा गरेका थिए ।