प्रेरक प्रसंगः के तपाईको मनमा कसैलाई राख्ने खाली ठाउँ छ ?
काठमाडौं–नानइन नाम गरेका एक फकीर थिए । एकपटक उनलाई भेट्न एक निकै ठूला पण्डित आए ।
पण्डितसँग उनले सोधे–‘ के तपाइँ मलाइ ईश्वरका सम्बन्धमा बताउन सक्नुहुन्छ ? के सत्यका बारेमा केही बताउनुहुन्छ ?’
नानइनले भने–‘ निकै थाक्नुभएको जस्तो देखिनुहुन्छ । बस्नुहोस् र थोरै चिया पिउनुहोस् । त्यसपछि केही बताउनेछु ।’
नानइन भित्र गए र आफैं चिया बनाएर ल्याए । प्रायः फकीरहरुको बानी अरुलाई पकाउन लगाउने हुन्छ । अरुका लागि पकाउने हुँदैन । उनीहरु सेवा लिन त सक्छन् गर्न सक्दैनन् । यस्ता मानिसहरुले फकीरको नाम लिएर शोषण गर्छन् र सेवा लिन निकै सजिलो छ । प्रश्न त सँधै दिनुको हो ।
फकीर भित्र गए, चिया बनाएर बाहिर आए । पण्डितसँग चिया पिएपछि कुरा गर्छु भने ।
फकीरले चियाको पात्र पण्डितको हातमा दिए र आफूले किल्टीबाट चिया हाल्न थाले । पात्र भरियो तर उनले चिया हाली नै रहे । चिया भरिएर पोखिन थाल्यो ।
पण्डित आत्तिए–‘भरियो पर्खनुहोस् । तपाइले भुल्नुभयो जस्तो छ ? पोखिँदा पनि हालिरहनुभएको छ । मेरो पात्रमा ठाउँ नै छैन ।
नानइनले उत्तर दिए–‘तपाइँलाइ पात्रको सम्बन्धमा जति होस् छ त्यत्ति मनको सम्बन्धमा छैन । तपाइँ पात्रको सम्बन्धमा भरियो भने देखिन्छ र अरु हाल्न सकिदैन भनेर जसरी जागा हुनुुहुन्छ के तपाइँको मनमा ठाउँ छ ?’
यदि परमात्माले भने–‘ आज म आउँछु तपाइँको पाहुना बन्छु । त्यसबेला तपाइँभित्र कुनै ठाउँ छ ? कुनै रिक्त स्थान छ ? कुनै कक्ष मनमा खाली राख्नुभएको छ पाहुनाको स्वागतका लागि ?’
जब परमात्माले ढोका ढक्ढक्याउने छन्, तपाइँभित्र घरमा यति धेरै भीँड छ । यति धेरै पाहुना त्यहाँ बसिरहेका छन् कसले परमात्मालाई ठाउँ दिन्छ ?’
नानइनले भने–‘तपाइँ पात्र भरिएकाले अब चिया अट्दैन भन्ने सोच्नुहुन्छ तर तपाइँले कहिल्यै तपाइँको मनको पात्रमा कुनै खाली ठाउँ छैन भनेर सोच्नुभएको छ ?’