अब माग्न पनि प्रतिबन्ध, अटेरी गरे तीन बर्ष जेल
काठमाडौं – काठमाडौं महानगरपालिकाले सडकमा बसेर भिख माग्न रोक लगाएको छ । महानगरपालिकाले आफ्नो स्थापनाको २५ औं महानगर दिवसको अवसरमा भिख माग्न र माग्न लगाउन प्रतिबन्ध लगाएको हो ।
काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुमा वेसाहारा, अभिभावकविहिन, सहयोगापेक्षी, सडक आश्रीत मानवहरुका लागि काठमाडौं महानगरपालिकाले अभिभावकत्तो ग्रहण गरी उनीहरुको भरण पोषणसहितको सम्मान, बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेकाले कसैले पनि मागेर बाँच्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै भिख माग्ने र माग्न लगाउने कार्य बन्द गरिएको जनाएको छ ।
‘भोकै कोही पर्दैनन्, भोकै कोही मर्दैनन्’ भन्ने नाराका साथ काठमाडौं महानगरपालिकाले भिख माग्न निशेध गराई स्वच्छ र सफा काठमाडौं बनाउन लागेको जनाएको छ । काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते स्थापनाको २५ औं बार्षिकोत्सव मनाउँदै छ । सोही दिन महानगरपालिकाले ‘वेसाहारा, अभिभावकविहिन, सहयोगापेक्षी, सडक आश्रीत मानवरहित काठमाडौं महानगरपालिका’ भनेर छोषणा गर्दैछ ।
यो अभियानमा असहयोग गर्ने जो कोहीलाई पनि कानुन अनुसार कारवाही गरिने महानगरपालिकाले जनाएको छ । अटेरी गर्नेलाई कानुनमा उल्लेख भए अनुसारको तीन बर्ष जेल र ३० हजार रुपैयाँ जरिमान गरिने जनाइएको छ ।
