क्रिश्चियन धर्ममा मौलाउँदै विकृति, परमेश्वरले बचाउँछ भन्दै एचआईभी पिडितले छाडे औषधि

मंगलबार, २४ मंसिर २०७६

चितवन – क्रिश्चियन धर्ममा विकृत बढ्न थालेको छ । परमेश्वरले बचाउँछ भन्दै क्रिश्चियन धमर्मलम्विहरुले घरघरमा गई प्रचार प्रशार गरेपछि चितवनका एचआईभी संक्रमितहरुलेले औषधी खान छाडेका छन् ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसन (एएचएफ) चितवनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एआरटी सेन्टरबाट नियमित औषधी सेवन गर्दै आएका ९ जना एचआईभी संक्रमितहरुले औषधी सेवन गर्न छाडेको पुष्टी गरे । उनीहरुलाई जति सम्झाए पनि नसकिएको उनको भनाइ छ ।

पछिल्लो तीन महिनामा मात्रै नौ जनाले पिता परमेश्वरले बचाउँछ भनेर नियमित औषधि छुटाएको कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए । एन्टिरेट्रो भाइरल थेरापी (एआरभी) छोड्नेहरू माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाकाका छन् ।

‘यतिका बर्ष एड्सको क्षेत्रमा काम गरियो, तर यस्तो समस्या आएको थिएन’ सापकोटाले भने ‘नियमित औषधि खाइरहेकाले किन छाडे भनेर फलोअप पनि ग¥यौं, तर भित्री कुरा अर्को रहेछ, जति प्रयास गरे पनि फिर्ता गराउन सकिएन।’

युवा पुस्तामा भन्दा ४० बर्ष कटेका अधवैशे मानिसहरुमा एचआईभीको संक्रमण बढी देखिएको तथ्यांक सेन्टरमा छ । ‘युवाहरुलाई भन्दा बढी ४० कटेका पुरुषलाई बढी एचआईभीको संक्रमण देखियो’ सेन्टरका कार्यक्रम संयोजक सापकोटाले भने, ‘समलिंगी बढी संक्रमित छन् दुई महिनायता मात्र ११ जना समलिंगीमा एचआईभी संक्रमण प्रमाणित भयो ।’