प्रेरक प्रसंगः कान नसुन्ने बृद्ध र सिकिस्त बिरामीको कथा
काठमाडौं–एउटा गाउँमा एक वृद्ध मानिस थियो । ऊ निकै बुढो भइसकेको थियो । बुढेसकालले गर्दा कान नसुन्ने भएको थियो ।
एकपटक उसको छिमेकमा एक युवक बिरामी भयो । अब ऊ बाँच्न सक्ने सम्भावना कम छ भन्ने खबर बुढोसम्म आयो ।
मानिसहरुले बुढोसँग अनुरोध गरे–‘ तपाइँ जानुहोस् र दुई चार सहानुभूतिका शब्द व्यक्त गरिदिनुहोस् । तपाइँका सम्वेदनाका शब्द सुनेर उसलाई सुखको अनुभव हुनेछ ।’बुढोले यस्तो भनेर स्वीकार गर्यो –‘ म बहिरो छु, बिरामीले मैले सुन्नेगरी बोल्न पनि सक्दैन । तैपनि तिमीहरुले भन्छौ भने म जान्छु ।’
ऊ गयो । बहिरो व्यक्तिले के नै गर्न सक्थ्यो र ?उसले बाटोमै आफूले बिरामीसँग गर्ने कुराको बारेमा कल्पना गर्यो ।
बिरामीले सोध्ने प्रश्नका उत्तरको अनुमान गर्यो ।
उसले सोच्यो–‘ जाने बित्तिकै तिमी कस्तो छौ भनेर सोध्नेछु । उसले ठीक छ भन्नेछ ।’
सबैले यस्तै भन्छन् मर्नै लागेको मानिसले पनि सबै ठीक छ भन्छ । झुटो छ यो संसार ! बिल्कुलै ठीक छैन तर सबै ठीक छ भनिरहेका छन् ।
उसले सोच्यो–‘ उसले सबै ठीक छ भन्नेछ । मैले उसलाई भन्नेछु परमात्माको कृपा हो । फेरि म ऊसँग सोध्नेछु– कुन चिकित्सकबाट उपचार भइरहेको छ ?कुनै न कुनै डाक्टर हुनेछन् । मैले सोध्नेछु– मेरो घरमा पनि उसको चरण परेको छ । त्यसो भए त तिमी अवश्य स्वस्थ्य हुनेछौं । ती डाक्टरको खुट्टा जहाँ पर्छ त्यहीँ स्वास्थ्य छ ।’
यस्तै सोच्दै बुढो बिरामी कहाँ पुग्यो ।
यसले सोध्यो–‘ भन तिमी ठीक छौं नि?’
बिरामीले भन्यो–‘ कहाँ ठीक छु ? मर्नै आँटेको छु ।’
बुढोले उत्तर दियो–‘ निकै राम्रो कुरो ! भगवानको कृपा भएको हो ।’
बिरामी आत्तियो । उसलाई कतैबाट यस्तो आश्वासनको आशा थिएन ।
उसले सोच्यो–‘ म मर्नै लागेको छु । यिनी भने यस्तो कुरा गरिरहेका छन् । यिनी कुनै शत्रुताको बदला त लिँदै छैनन् ? मैले यिनको कुभलो कहिले गरेको थिएँ र मर्ने बेलामा पनि बदला लिन आएका छन् ! यस्तो पनि कसैले भन्छ ?’
बुढोले सोच्यो–‘ कुन चिकित्सकबाट उपचार चलिरहेको छ ?’
बिरामी रिसायो– मृत्युको । यम दूतले उपचार गरिरहेका छन् ।’
बुढोले भन्यो–‘ उनी त निकै राम्रा चिकित्सक हुन् । जहाँ उनका खुट्टा पर्छन् त्यही जीवन छ । त्यहाँ स्वास्थ्य नै स्वास्थ्य छ । उनका हातमा तिमी बिल्कुलै सुरक्षित छौ । आत्तिन पर्दैन ।’
बिरामी आत्तियो होला । अचम्भित भयो होला ।
तर जीवनमा यस्तै भइरहेको छ । हामी बहिरा छौं, दृष्टिविहीन छौं शास्त्रले, विज्ञानले सबैका कान आँखा बन्द गरिदिएको छ ।
जीवनसँग केही सोधिन्छ । त्यसको उत्तर सुन्न सक्दैनौं र उसको उत्तर दिन्छ । त्यो हामी आफैले तयार गरिएको हुन्छ । हजारौं वर्षदेखि चल्दै आएको उत्तर हामी दिइरहेका छौं । त्यसैले जीवनसँग हाम्रो कुनै मेल हुँदैन । जीवन एकातर्फ जान्छ हामी अर्कातर्फ जान्छौं । यस्तो अवस्थामा यदि जीवन दुःख र विषाद बन्छ भने कुनै आश्चर्यको कुरा होइन ।